परासी । रामग्राम नगरपालिकाले आज आइतबारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागेको छ । नगर स्तरीय दोश्रो रनिङ्ग शिल्ड गर्न लागिएको रामग्राम नगरपालिकाले जनाएको छ ।
रामग्राम नगरपालिका वडा नं। २ मा रहेको पवन माध्यमिक विद्यालयले व्यवस्थापन गर्ने भनिएको रनिङ्ग शिल्ड प्रतियोगिता रामग्राम १२ स्थित पचगाँवा खेल मैदानमा हुने नगर शिक्षा अधिकृत सुन्दर खनालले जानकारी दिनुभयो ।
नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुलाई रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी गराईनेछ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिवल, कबड्डी, दौड ट्रयाक तर्फ १०० देखि ४ हजार मिटर सम्मको रिले दौड, उफ्रने र फ्याँक्ने फिल्ड तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ्ग थ्रो, सटफूट र मार्सल आर्ट तर्फ तेक्वान्दो लगायतका खेल सञ्चालन गरिने तयारी गरिएको खेल संचालन समितिका संयोजक एवं पवन माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार पाठकले बताउनु भयो ।
आइतबार विहान ११ बजे प्रतिनिधि सभाका सदस्य ध्रुव वहादुर प्रधानले एक कार्यक्रमका बीच रनिङ्ग शिल्ड प्रतियोगिताको समुदघाटन गर्ने कार्यक्रम रहेको रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले जानकारी दिनु भयो । प्रतियोगिता माघ १६ गतेसम्म चल्ने छ ।
यसैवीच रामग्राममा विगत ५ बर्षदेखि सुविधा सम्पन्न कभर्र्डहल निर्माण भई व्याडमिन्टन खेल सञ्चालन भएपनि नगरपालिकाले सञ्चालन गर्ने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा व्याडमिन्टन खेल समावेश गरिएको छैन । नगर शिक्षा अधिकृत सुन्दर खनालले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा व्याडमिन्टन खेल समावेश नगरेकाले खेल तालिकामा समेट्न नसकिएको बताउनु भयो । आगामी दिनमा व्याडमिन्टन खेललाई पनि प्रतियोगितामा समेट्न व्याडमिन्टन खेलाडिहरुले माग गरेको रामग्राम व्याडमिन्टन क्लवका संस्थापक अध्यक्ष मेघराज गौतमले बताउनु भयो ।