महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि र उनीहरुको हकहितमा आवाज उठाउन भन्दै पश्चिम नवलपरासीका महिला पत्रकारहरु संगठीत भएका छन् ।
जिल्लाका विभिन्न मिडियामा कार्यरत महिला सञ्चारकर्मीहरुको आज परासीमा सम्पन्न भेलाले नवलपरासी महिला प्रेस क्लब गठन गरि महिला पत्रकारको पक्षमा काम गर्ने जनाएको हो । भेलाले नवलपरासी खबर मिडिया प्रालि सुनवलकी पत्रकार कल्पना खरेलको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना केसी (पाल्हीनन्दन), सचिवमा डोल्मा चौधरी (सरावल), कोषाध्यक्षमा सितमति हरिजन (सुस्ता) तथा सदस्यमा आरती राना (बर्दघाट), मञ्जु यादव (सुनवल) र ↑ यादव (रामग्राम) चयन हुनुभएको यस्तै साधारण सदस्यहरुमा अन्जु केवट, उष्मा क्षेत्री ,मन्जु यादव, अनिता परियार, कमला दर्जी, हासीना खातुन,अन्नु कुमारी सुनार,धनमाया कुमाल रहेका अध्यक्ष खरेलले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासी जिल्लामा महिला पत्रकारको संख्या कमी रहेको र भएका महिला पत्रकारको पनि क्षमता अभिवृद्धि, पत्रकारितामा पहुँच बृद्धि एवं उनीहरुको हकहितको पक्षमा आवाज उठाईदिने निकायको कमी महशुस भएकोले सातै स्थानीय तहका महिला पत्रकारलाई संगठीत गरिएको अध्यक्ष खरेलले बताउनुभयो ।
महिला प्रेस क्लवले महिला सञ्चारकर्मीको पक्षमा काम गर्दै महिलाका मुद्धालाई प्राथमिकताका साथ मिडिया मार्फत उठान गर्ने उहाँले बताउनुभयो । भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले पत्रकारिता क्षेत्रमा पहुँच विस्तार गर्न महिला पत्रकारको सक्रियता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिता पेशालाई निरन्तरता दिन चुनौती रहे महिला पत्रकारको पक्षमा बुलन्द आवाज उठाउन क्लवलाई आग्रह गर्नुभयो ।
परासी प्रेस क्लवका अध्यक्ष क्ष बेचु गौडले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण पेशा भएको र महिला पत्रकारलाई थप चुनौती रहेकोले चुनौतीका बीच पनि अवसरको रुपमा लिएर सक्रियता र क्षमता बढाउँदै अघि बढ्न जोड दिनुभयो । उक्त अवसरमा दैनिक द्वान्टीफोर खबरका सम्पादक एवं रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, लुम्बिनी दैनिकका पत्रकार गौरीशंकर जयसवाल लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको महिला प्रेस क्लवकी सचिव डोल्मा चौधरीले बताउनुभयो ।