परासी । सरावल गाउँपालिकाले रोजगार बैंक सन्चालन तथा पालिकामै रोजगारको सम्भावना र पहल कदमिका लागि रोजगार तर्जुमा नीति निर्माण गर्ने भएको छ । बुधबार हिजो गाउँपालिकाको सभाहलमा सम्पन्न बैठकमा गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीले उक्त कुरा बताउनु भएको छ । साथै गाउँपालिकाले रोजगार बैंक सन्चालन तथा पालिकामै रोजगारको सम्भावना र पहल कदमिका लागि रोजगार तर्जुमा नीति निर्माण गरिने कुराको जानकारी समेत दिनु भएको छ । बेरोजगारहरुलाई कसरी रोजगारसंग जोड्ने बिषयमा आफू गहन रुपमा लागिरहेको बताउदै अध्यक्ष चौधरीले आउने आर्थिक बर्षमा नीति निर्माण गरि युवाहरुलाई रोजगारसंग जोड्ने कुरा बताउनु भयो । स्थानीय स्तरमै दक्ष जनशक्ति तयार गरी रोजगारीका अवसर दिनसकेमा सम्बन्धित व्यक्तिको पारिवारिक विकाससंगै समाज विकासमा समेत योगदान पुगी गरिबी निवारण गर्न सकिने अध्यक्ष चौधरीको भनाइ थियो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले दक्ष जनशक्तिको अभावमा विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्दै स्थानीय स्तरमै रोजगारको वातावरण सृजना गर्न पालिका लागि परेको बताउनुभयो ।
रोजगार शाखाको आयोजनामा भएको उक्त बैठकमा रोजगार संवाद मञ्च सन्चालन एवं रोजगारीका सम्भावनाहरु, समस्याहरु, चुनौतिहरु र अगामी दिनमा कसरी सुदृढीकरण गरी लैजाने विषयहरुमा अन्तरक्रिया तथा छलफल भएको थियो । छलफलमा रोजगारीका सम्भावनाहरु, कृषि आधुनिकिकरणमा जोड दिनुपर्ने, प्राविधिक शिक्षामा लगानि गरी, दक्ष प्राविधिक उत्पादन गरीने, घरेलु तथा साना उद्योगहरुलाई स्थापना गर्न र स्थापना भएकालाई सहयोग गरीने र अधिकत्तम रोजगारको सृजना हुने विषयमा छलफल भएको थियो ।
रोजगारी सृजना गर्न नसक्नुका चुनौतीहरु, दक्ष जनशक्ति बैदेशीक रोजगारमा पलायन हुनु, घरेलु तथा साना उद्योगहरुलाई उद्योग सँचालन सम्बन्धी पर्याप्त ज्ञान सिपको अभाव हुनु, स्थानिय ,प्रदेश तथा सँघिय सरकारद्धारा उद्योगीहरुलाई पर्याप्त सहयोग नपुर्याउनु नै मुख्य चुनैती लगाएतका विषयहरुमा छलफल भएको थियो ।
कार्यक्रममा सरावल गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र गाउँपालिकाका राजनीतिक दलका प्रतिनिधि , सँंघसंस्था, पत्रकार एवं उद्योग बाणिज्य संघ लगाएतका प्रतिनिधित्व गरीने व्यक्तिहरुको उपस्थिती रहेको थियो । बैठक तथा छलफलको सहजिकरण रोजगार सेवा केन्द्र प्रमुख नेत्र भण्डारीले गर्नुभएको थियो ।