परासी । राष्ट्रिय विभूति अरनिको स्मृति दिवसको अवसरमा परासीमा सोमबार “स्टोन आर्ट वर्कसप” गरिएको छ । महान कलाकार अरनिकोको संझनामा पश्चिम नवलपरासीका कलाकारहरुले आर्ट वर्कसप गरेका हुन् ।
सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जको आयोजना र रामग्राम नगरपालिका तथा नेपाल कमर्सियल आर्टिस्ट संघ नवलपरासीको सहकार्यमा स्टोन आर्ट वर्कसप गरिएको हो । सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र रामग्राम नगरपालिकाका कार्यवाहक नगरप्रमुख संझना चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी वर्कसपको समुदघाटन गरिएको थियो । वर्कसपको उद्घाटन गर्दै कार्यवाहक नगरप्रमुख चौधरीले ढुँगामा रामग्राम लेखेर कलाकारको सम्मान गर्नु भएको थियो ।
सो कार्यक्रममा रामग्राम नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, बरिष्ट कलाकार मन गोल्डी, रोटरी क्लव अफ नवलपरासीका अध्यक्ष विरेन्द्र अग्रहरी, जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रमुख राजु खत्री, सामुदायिक रेडियो परासीका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, उपाध्यक्ष नगेन्द्र अग्रहरी, लगायतले बोल्दै स्थानीय कलाकारको सहकार्यमा रामग्रामलाई धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गर्न सुझाव दिएका छन् ।
आर्ट वर्कसप बाट उत्पादन हुने कलात्मक ढुँगाहरुलाई परासी बुद्धचोकदेखि लोकतान्त्री चोकको डिभाइडरमा राखिने सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनु भयो । उहाँले रामग्रामलाई पर्यटकीय नगर बनाउन, सफा सुन्दर र हराभरा बनाउन नगरभित्रका सवै संघसंस्थासँग हातेमालो गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नवलपरासी जिल्लाका विभिन्न स्थानमा आफ्नो कुचि र कलम चलाएका २५जना कलाकारहरुले ढुँगामा रामग्राम स्तुपा, ट्राफिक सचेतनाका स्लोगनहरुलाई ढुँगामा उतारेका छन् । झण्डै २५ वटा ढुँगामा चित्र कोरिएको र सो ढुँगाहरुलाई मंगलबार बुद्धचोकदेखि लोकतान्त्रीक चोकसम्म सडकको बीच डिभाइडरमा राखिने सामुदायिक रेडियो परासीका स्टेशन म्यानेजर विकास अधिकारीले बताउनु भयो ।