परासी । रामग्राम नगरपालिकामा सञ्चालित २ दिने सहकारी तथा गरिवी सम्बन्धी सूचना व्यवस्था प्रणाली (कोपोमिस) तालिम शुक्रवार सकिएको छ । रामग्राम नगरपालिका कार्यक्षेत्र भएका सहकारीहरुलाई लक्षित गरी कोपोमिस सञ्चालन सम्बन्धी तालिम भएको हो ।
रामग्राम नगर भित्र रहेका ३२ बटा विभिन्न विषयगत सहकारीहरुलाई लक्षित गरी तालिम संचालन गरिएको हो । रामग्राममा बचत तथा ऋण सहकारी संस्थाहरु १४ वटा, साना किसान कृषि सहकारी संस्था ११ वटा, बहुउद्देश्यीय सहकारी संस्था ६ वटा, सञ्चार सहकारी १ रहेको नगरपालिकाले जनाएको छ भने नगर क्षेत्र भित्र सहकारीमा आवद्ध सदस्यहरुको सख्या करिव १० हजार देखिएको छ ।
सहकारी सम्बन्धी कारोबारको तथ्याङ्कलाई नियमित, विश्वसनीय र एकीकृत बनाउन, जोखिम न्यूनिकरण गर्न तथा सहकारीको डाटालाई प्रविधि मैत्री बनाउँदै कागजी प्रकृयाको अत्य गर्नकालागि २ दिने तालिम गरिएको हो ।
२ दिनसम्म चलेको प्रशिक्षणको समापन गर्दै रामग्राम नगरपालिकी कार्यवाहक नगरप्रमुख संझना चौधरीले सहकारी संस्थाहरुले आयमूलक तथा सीप विकासको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले अनुगमनका क्रममा देखिएका समस्याहरुलाई समाधान गर्दै लगिने बताउनु भएको छ । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, प्रशासन प्रमुख रामलाल भुषाल, सहभागी संस्थाहरुको तर्फबाट परासी सूचना तथा संचार सहकारी संस्थाका व्यवस्थापक मेघराज गौतम, शुभलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष जोगकुमारी चौधरी लगायतले तालिमका विषयवस्तुले सहकारी संस्थाको क्षमता अभिबृद्धि भएको बताउनु भएको छ ।
२ दिनसम्म सञ्चालन भएको कोपोमिस तालिममा सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहजिकरण गर्नु भएको रामग्राम नगरपालिकाका सहकारी शाखा प्रमुख रामसुभाष गुप्ताले नेपाली चेलीलाइ जानकारी दिनु भयाे ।