परासी । सुनवल सामुदायिक विकास केन्द्रले आज बिहिवार पाल्हीनन्दनमा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । केन्द्रले पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिकामा सञ्चालनमा रहेका विभिन्न परियोजनाको आ.ब.२०७९।८० को बार्षिक लेखाजोखा गरिएको बताएको हो ।
सुनवल सामुदायिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष जयराम वश्यालको अध्यक्षता र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा सामाजिक परिक्षण सम्पन्न भएको छ । सो अवसरमा अध्यक्ष गुप्ताले गाउँपालिकाका स्थानीय महिला, किशोरकिशोरी, अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालित कार्यक्रमले राम्रो उपलब्धी दिएको बताउनु भयो । उहाँले समाज परिचालनमा संस्थाले खेलको भूमिका प्रभावकारी भएको बताउँदै कार्यक्रमको दीगोपनकालागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले ग्रामीण क्षेत्रमा शिक्षाको स्तर माथि उठाउन संस्थाले भूमिका निर्वाह गर्न सुझाव दिनु भयो । अध्यक्ष यादवले समुदायमा देखिने चुनौतिहरुलाई अवसरको रुपमा लिन आग्रह गर्नु भयो ।
संस्थाको सामाजिक लेखा परिक्षण कार्यक्रममा परियोजनाका संयोजकहरुले प्रस्तुतीकरण गर्नु भएको थियो । सो अवसरमा लैङ्गिक समानता परियोजनाका संयोजक ज्योतिसिंह थारु, अपाङ्गता विकास परियोजनाका संयोजक श्यामसुन्दर ढुँगाना र घरेलु हिंसा न्यूनिकरण, सामुदायिक मेलमिलाप तथा सम्वाद परियोजनाका संयोजक कृष्ण पाण्डेले कार्यक्रमको प्रस्तुतिकरण गर्नु भएको थियो ।
जिल्लाका दुवै गाउँपालिकामा संस्थाले सञ्चालन गरेका तीनवटै परियोजनाको परिक्षण तथा अनुगमन सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले गर्नु भएको हो । उहाँ संस्थाको परियोजना संचालित क्षेत्रमा पुगी अवस्थाको विश्लेषण, कार्यक्रमले पारेको प्रभाव, असल अभ्यास र सिकाईहरु तथा सुधार गर्नु पर्ने कुराहरुलाई लक्षित गरी तयारपारिएको सामग्री प्रस्तुत गर्नु भएको बताइएको छ ।
कार्यक्रममा सुनवल सामुदायिक विकास केन्द्रकी कोषाध्यक्ष देवकुमारी घिमिरे लगायतले बोल्नु भएको संस्थाकी पुनःस्थापना संयोजक राधा सापकोटाले जानकारी दिनु भयो ।