परासी । पाल्हीनन्दन गाउँपालिकामा आइतबार आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । समापन कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले कसैको हत्या गर्नु, मार्नु वा पिट्नु मात्र हिंसा नभएको भन्दै कसैलाई बोलि वा बचनले पिडा दिइन्छ भने त्यो पनि हिंसा भएको बताउनु भयो । मन्त्री पाण्डेले समाजको सुधार सकारात्मक सोंचका साथ गर्न सकिने बताउनु भएकोछ । उहाँले गाउँपालिकाको शिक्षा, स्वास्थ्य वा सामाजिक विकास कोही अरु आएर गरिदिने नभई आफैले गर्नु पर्नेमा जोड दिनु भयो ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको अध्यक्षतामा भएको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सञ्चालन गरिएका विभिन्न रचनात्मक कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा अध्यक्ष गुप्ताले पाल्हीनन्दनलाई लैङ्गिक हिंसामुक्त पालिका बनाउन आफूहरु सधै सकारात्मक भएको बताउनु भयो । उहाँले पालिकाभित्र समाज परिचालनमा वहुसरोकारवाला संघसंस्थाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सधै हातेमालो गरेर काम गर्नु पर्ने बताउनु भयो ।
समापन कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, सुनवल सामुदायिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष जयराम वश्याल लगायतले बोन्दै हिंसामुक्त समाज भएमा मात्र समाजको दिगोविकास सम्भव भएको बताउनु भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा पाल्हीनन्दनमा दर्जन वढी कार्यक्रम संञ्चालन भएका थिए । प्रत्येक वडामा सचेतनामूलक तालिम, सडक नाटक, विद्यालय स्तरमा हाजिरीजवाफ प्रतियाेगिता, चित्रकला र वक्तृत्वकला प्रतियोगिता तथा सचेतनामूलक र्याली, कपर्दी प्रतियाेगिता, रस्सा तान खेल, चम्चा दाैड गरिएको सुनवल सामुदायिक विकास केन्द्रकी अपाङ्गता पुनःस्थापना संयोजक राधा सापकोटाले जानकारी दिनु भयो ।
सो अवसरमा गाउँपालिकाले वहुसरोकारवाला संस्थाहरुलाई कार्यक्रममा सहकार्य गरेको भन्दै सम्मान पत्रले सम्मान गरेको छ भने वडा नं. ५ की रिगला चौधरीलाई ५९ हजार ६९८ नगद सहित ७५ किलो चामल सहयोग गरिएको थियो । लैङ्गिक समानता परियाेजना अन्तर्गत गठीत अभिभावक समूहकी सदस्य चौधरीलाई उहाँको श्रीमान राजकुमार चाैधरीको औषधी र दैनिक जीवनयापन गर्न सहजहोस् भनि मुठ्ठीदानबाट सहयोग गरिएको लैङ्गिक समानता कार्यक्रमकी संयोजक ज्योतीसिंह थारुले जानकारी दिनु भयो ।