उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीद्वारा शनिवार रामग्राममा बजार व्यवस्थापनमा स्थानीय तहको भूमिका विषयक सरोकारवालासँगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
संरक्षण मञ्च नवलपरासीकी अध्यक्ष अधिवक्ता सरस्वती शर्माको अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपप्रमुअ चौधरीले स्थानीय बजार व्यवस्थापन, स्वच्छता तथा बजार अनुगमनका लागि स्थानीय तहहरुले पहल गरिरहेको बताउनुभयो । उहाँले उपभोक्ता सचेत हुन सके स्वच्छ बजार कायम हुने बताउँदै उपभोक्ता सचेतना तथा व्यवसायिक स्वच्छताका लागि आवश्यक बजेट विनियोजन गरि कार्यान्वयन गर्न बताउनु भयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले स्थानीय सरकारले स्थानीय बजार व्यवस्थापनमा चासोका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय बजार व्यवस्थापन, उपभोक्ता हित संरक्षण र स्वच्छ बजार कायम गर्न तीनै तहका सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो । उपभोक्ताले स्वच्छ र गुणस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउने गरि स्थानीय तहले स्थानीय बजारको व्यवस्थापन गर्नुपर्ने अध्यक्ष बानियाले बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सबै क्षेत्रमा वेथिती रहेकोले सबै मिलेर यसको समाधानमा लाग्नुपर्ने बताउनुभयो । संघीय सरकारको प्रतिनिधिको हिसावले पनि आफूले जिल्लामा उपभोक्तामैत्री बजार कायम गर्न पहल गरिरहेको तर सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेल, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवाली उपभोक्ता हित संरक्षण मञ्चका बर्दघाट नगर अध्यक्ष हुमनाथ आचार्य लगायतले आआफनो धारणा व्यक्त गर्नुभएको थियो।
उक्त अवसरमा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजन, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, सुर्वण प्रभा गुरागाई, केन्द्रीय महासचिव विष्णु तिमिल्सिना, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला तथा पालिका स्तरीय समितिका पदाधिकारीहरु ल्गायतको सहभागिता रहेको थियो ।