रामग्राम बचत तथा ऋण सहकारी सहकारी संस्था लि. को छैठौं निर्वाचनबाट अध्यक्षमा अनिल कुमार शर्मा सर्वसम्मत चयन हुनु भएको छ । शनिवार परासीमा आयोजित २१ औं बार्षिक साधारण सभा र छैठौ निर्वाचनको कार्यक्रमबाट शर्मा आगामी ४ बर्षकालागि अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । जसको उपाध्यक्षमा चन्द्रमणी चौधरी, सचिवमा मुक्तिप्रसाद पौडेल, कोषाध्यक्षमा सुर्यनाथ दास पटेल र सदस्यहरुमा सन्दिप अग्रहरी, विष्णु राना र बिनिता खड्का चयन हुनभएको निर्वाचन समितिका संयोजक एवं संस्थाका पूर्व अध्यक्ष राजकुमार रेश्मीले जानकारी दिनुभयो ।
यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा अमरदीप गुप्ता, सदस्यहरुमा क्रमशः बिष्णु हरिजन र विरेन्द्र यादव चयन हुनु भएको छ । त्यसैगरी जिल्ला सहकारी संघको प्रतिनिधिमा सीता कुँवर र नेप्स्कूनको प्रतिनिधिमा पूर्वअध्यक्ष मेघराज गौतम सर्वसम्मत चयन हुनु भएको छ ।
सहकारीका अध्यक्ष जनार्दन ठाकुरको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा बार्षिक साधारण सभा र छैठौ निर्वाचन कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख यादवले नगरभित्र कार्यक्षेत्र बनाएर सञ्चालन भएका सहकारीहरुलाई आवश्यक नियमन र सहयोग गर्ने बताउनु भयो ।
वि.सं २०५९ सालमा स्थापनाको सहकारीमा अहिले २ सय ७६ जना सेयर सदस्यहरु रहेका छन्, जसमा १ सय ६२ जना पुरुष , १ सय १३ जना महिला र अन्य १ जना रहेका छन् । सहकारीमा बालबचतकर्ता ६२ जना रहेको बताइएको छ । संस्थामा ४५ लाख ९७ हजार ४ सय शेयर पूँजी रहेको संस्थाले जनाएको छ ।
सहकारीले आ.ब.०७९।०८० मा ६ लाख ७७ हजार ४ सय ७ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको कोषाध्यक्ष चन्द्रमणी चौधरीले जानकारी दिनुभयो । संस्थाले मासिक बचतकर्ता १ जना, अधिकतम बचत गर्ने बाल बचतकर्ता ३ जना र असल ऋणि १ जनालाई नगद सहित सम्मान गरिएको छ ।
संस्थाको २१ औं बार्षिक साधारण सभा आ.ब. २०७९।०८० को वार्षिक साँगठानीक प्रतिवेदन एवम् आ.ब.२०८०।०८१ को प्रस्तावित नयाँ कार्यक्रम संस्थाका सचिव मोहन पौडेलले प्रस्तुत गर्नुभएको थियो भने आ.व. २०७९।०८० को आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष चन्द्रमणी चौधरीले प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा प्रस्तुत भएका सवै प्रस्तावहरु सर्वसम्मत पास भएका छन् ।