नवलपरासीमा सवैभन्दा वढी कर भुक्तान गर्ने ३ जना करदातालाई बाह्रौ राष्ट्रिय कर दिवस एवं कर सप्ताह २०८० को समापनको अवसरमा सम्मान गरिएको छ । आर्थिक बर्ष २०७९।०८० का उत्कृष्ट करदातालाई करदाता सेवा कार्यालय परासीले परासीमा आयोजित कार्यक्रममा सम्मानित गरेको हो ।
जिल्लाको किसान पाईप प्रोडक्ट प्रा.ली, गैरे पेट्रोलियम र लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.लाई सम्मान गरिएको करदाता सेवा कार्यालय परासीले जनाएको छ । सेवा कार्यालय परासीले दिएको जानकारी अनुसार किसान पाईप प्रोडक्टले ५८ लाख ९७ हजार १६७ रुपैया, गैरे पेट्रोलियमले २७ लाख, ५ हजार १२८ रुपैया र लुम्बिनी सुनवल साकोसले १४ लाख ८७ हजार २९६ रुपैया कर भुक्तान गरेका छन् ।
कर दिवस तथा कर करदाता सेवा कार्यालय परासीका कर अधिकृत राजेन्द्र शाहको अध्यक्षता र निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाको प्रमुख आतिथ्यमा भएको हो । सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी देवकोटाले करको दायरा वढाउने, कर करले नभै रहरले तिर्ने वातावरण निर्माण गर्नु पर्ने साथै करमैत्री वातावरण बनाउन आग्रह गर्नु भयो ।
सो अवसरमा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशव भण्डारी, भ्रष्ट्राचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, लेखापरिक्षक विष्णुप्रसाद चापागाई, नवलपरासी उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेशकुमार गुप्त, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, सम्मानीत संस्थाको तर्फबाट लुम्बिनी सुनवल साकोसका व्यवस्थापक बद्रीप्रसाद पौडेल लगायतले बोल्दै कर शिक्षालाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा करदाता सेवा कार्यालयका कर्मचारी श्याम कुमार श्रेष्ठ सेवा प्रवाहमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानीत हुनु भएको कार्यक्रम संचालक सरोज भुषालले नेपाली चेलीलाई जानकारी दिनु भयो ।