नवलपरासीका विभिन्न स्थानमा रहेका नदी तथा पोखरीहरुमा छठीमाइको पूजाका लागि तयारी शुरु भएको छ । नेपालीहरुको ठूलो चाडको रुपमा रहेका विजयादशमी र दिपावली सकिएसँगै छठ पूजाको तयारी थालिएको हो । नवलपरासीका सातै पालिकाहरुमा छठको विशेष पूजाआजा गरी मनाउने तयारी गरीएको छ ।
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाईने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरिपरी पृथ्वी घुम्ने भएकोले शक्ति र ऊर्जाको केन्द्रको रुपमा मानिने मानिसको सहअस्तित्व छठसँगै साँस्कृतिक रुपमा जोडिएको हो । षष्ठीका दिन मनाइने भएकाले यो पर्वको नाम छठ पर्व भएको विश्वास गरिएको छ । तराई क्षेत्रमा विषेश पर्वको रुपमा मनाईने छठ पर्व पछिल्लो समयमा पहाडि समूदाय र पहाडि क्षेत्रमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ।
नवलपरासी जिल्लाको सदरमुकाम परासी र आसपासका विभिन्न क्षेत्रमा छठ पूजाकालागि पोखरी, तलाउ र नदी किनार सरसफाई गर्ने कार्य शुरु गरिएको छ । रामग्राम नगरपालिका वडा नं. २ झरही खोलामा प्रत्येक बर्ष जस्तै यस बर्ष पनि पूजाको भव्य तयारी थालिएको हो । झरही खोलासँग वडा नं. १ को सहुवाटिकर, वडा नं. ४ को जितपुर, सूर्यपुरा र चन्द्रगढी, वडा नं. ६ को जौररीमाई पोखरी, वडा नं. ९ को ललितपुर, वडा नं.१० को मंझरीया र लंकहवा, वडा नं. १२ को कुनुवार, वडा नं. १५ कोे सुझौली र घिनाहा जोड्ने खोला, वडा नं. १६ को हकुई र सितापुर खोला लगायतका क्षेत्रमा छठको तयारी गरिएको स्थानीयले बताएका छन् ।
यस्तै सुनवल नगरपालिकाको वडा नं. ९ को कासिपुर दुर्गामन्दिर घाट र स्वाँठीको पोखरी लगायतका क्षेत्रमा छठपूजाको तयारी गरिँदैछ । यस्तै पाल्हीनन्दन गाउँपालिकामा पनि छठपर्वको तयारी थालिएको गाउँपालिकाले जनाएको छ । पाल्हीनन्दनमा गाउँपालिका भवन परिसरमै रहेको पोखरीमा छठको विशेष पूजाआजा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको सचिवालयले जनाएको छ यस्तै वडा नं. ४ को शिवालय मन्दिर परिसरको पोखरीलगायतका क्षेत्रमा छठको पूजाको तयारी भइरहेको छ ।
यस्तै सरावल गाउँपालिकाका विभिन्न वडाहरुमा छठपूजाको तयारी थालिएको स्थानीयहरुले बताएका छन् । सरावलको वडा नं. ६ को पुसौली गाउँको झरही खोला, वडा नं. ५ को एतिहासिक धनगढवा पोखरी लगायतका क्षेत्रमा छठपूजाको तयारी गरिएको हो ।