तिहारको मुख्य दिन आज भाइटिका, साइत खोज्नेकालागि विहान १० बजेर ५१ मिनेटको साइत उत्तम नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाइ दिने प्रचन छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी एक अर्कालाई पूजा गरी टिका लगाइदिनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एव सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।