डोल्मा चौधरी, पश्चिम नवलपरासी ।
जागिर खाने सपना थियो, तर विविएस पढ्दा पढ्दै छाड्नु पर्यो, पढाइलाई निरन्तरता दिन सकिन भन्नु हुन्छ पाल्हीनन्दन गाउँपालिका वडा ५ गेरमा बस्ने श्यामसुन्दर कोहार । परिवारको आर्थिक अवस्था सुधार गर्न आफ्नै बुवाआमाको पुख्र्यौली पेशा (माटोका भाँडा) बनाउने पेशामा रमाउनु पर्ने छ, किन की अर्को विकल्प छैन ।
७ जना परिवारको जिम्मेवारी ३५ वर्षीय कोहारको काँधमा छ । पढाइमा राम्रो भए पनि रोजगारीको अवसर नपाएपछि उहाँ परिवारको आवश्यकतालाइ बुझि पुख्र्यौली पेशामा लाग्नु भएको हो । घरमै माटोका विभिन्न भाँडाकुँडा बनाइ बिक्रि गरी परिवार चलाउन थाल्नु भएको झण्डै १२ बर्ष पुरा भयो कोहार भन्नु हुन्छ, मैले माटोबाट बन्ने सबै प्रकारका भाँडाकुँडा बनाउन जानेको छु । पहिलेभन्दा अहिले माटोका भाँडाकुँडाको व्यवसाय सञ्चालन गर्न चुनौती छ । दिन प्रतिदिन व्यापार खस्किँदै गएकोले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न पनि कठीन भएको अनुभव सुनाउँदै भन्नुभयो “ प्लास्टिक र स्टिलका भाडा उत्पादन भएपछि माटाका भाडाका माग ह्वात्तै घटेको छ ।” पहिले वर्षभरी यही व्यापारले घरधन्दा राम्रै चल्थ्यो तर अहिले सिजनमा मात्र चलाउनुको विकल्प छैन । उहाँ भन्नु हुन्छ आफ्नो मौलिक पेशा सञ्चालन गर्न नसकेपछि समुदायका अधिकांश युवा युवति विदेशीन बाध्य छन् ।
नेपालीहरुको महान चाड बडादशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै माटाका थुप्रै सामाग्री बनाउँदै आउनु भएको छ । नवलपरासी जिम्लामा मात्र नभई छिमेकी जिल्ला र छिमेकी देश भारतमा समेत उहाँको उत्पादन पुगेको छ । “अहिलेकै सिजनमा १० हजार बढी पाला मात्र बनाएर विक्रि गरेको कहाँर, बताउनु हुन्छ । आफ्नो घर भारतीय सिमानासँग जोडिएकोले पनि माटोको उत्पादन ब्रिकि गर्न सजिलो हुने उहाँ बताउनु हुन्छ । व्यापार पहिले जस्तो नभए पनि सन्तोषजनक रहेको भन्दै आफूले जस्तै पेशा गरी बस्ने अन्य उद्यमीहरुको ब्यापार सन्तोषजनक नरहेकोमा दुःख व्यक्त गर्नु भयो ।
पहिले यहि सिजनमा एकलाख सम्म आम्दानी गरेको संझिँदै कोहारले यो सिजनमा जम्मा ६० हजारको मात्र आम्दानी भएको बताउनु भयो । बजारमा स्टिल, प्लास्टिक विद्युतीय सामाग्री आएसँगै उपभोक्ताको ती बस्तुमा आकर्षण बढेको छ । खासमा भन्ने हो भने प्लास्टिक जन्य उत्पादनकाकारण माटोबाट बन्ने सामाग्री विस्तापित हुन पुगे भन्नु हुन्छ उद्यमी श्यामसुन्दर कोहार । आफ्नो पुर्खौली पेशा जोगाउन र परिवारको आवश्यकता पुरा गर्न दिनहुँ बजारमा सामान लिई पुग्छु । जसोतसो छोराछोरीको राम्रो शिक्षाका लागि दुुःख गरिरहेको छु उहाँले भन्नु भयो । माटाको समाग्रि बनाउदा खर्च धेरै नलागे पनि मेहनेत निकै लाग्ने गर्छ तर मेहनेत अनुसार पैसा छैन अनि युवामा आकर्षण पनि छैन । जसले गर्दा पेशानै लोप हुने अवस्था आउँछ कि भन्ने चिन्ता चै छ मलाई ।
घण्टौ लगाएर माटोका विभिन्न सामाग्रीहरु बनाइन्छ । जसमा पाल, गिलास, गाग्रि, घैटो, दियो, भुड्की, पानी फिल्टर, पैन, लगाएत सामग्री निमार्ण गरी बनाउदै आएको ति सबै माटाका भाडालाइ पकाउन दाउराको पनि उत्तिकै समस्या रहेको कोहार बताउनु हुन्छ । गाउँपालिका सरकारले स्थानीय उत्पादनमा र बजारीकरणमा त्यति ध्यान दिन नसकेको उहाँको गुनासो छ । जनप्रतिनिधिहरुले जसरी मञ्चमा भाषण गर्दछन् त्यसैगरी यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न आवश्यक छ भन्नु हुन्छ पाल्हीनन्दनका युवा उद्यमी कोहार । माटोको भाँडा बनाउने इलेक्ट्रीक चक्का, माटो, दाउरा र अन्य प्रविधि भित्र्याउन सके यो पेशा जोगाउन सकिन्थ्यो की ?