परासी सूचना तथा सञ्चार सहकारी सस्था लिद्धारा सञ्चालित सामुदायिक रेडियो परासी ९०.२ मेगार्हजले १६ औं वार्षिकोत्सव तथा सप्ताहव्यापी कार्यक्रमको पाँचौ दिन मंगलबार सुनवलमा नवलपरासीका मिडिया संञ्चालकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । कार्यक्रममा आमसंचार क्षेत्रमा देखापरेका समस्या र त्यसको समाधानका उपायका बारेमा छलफल भएकाे हो ।
कार्यक्रम सामुदायिक रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्यको अध्यक्षता र सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा गरिएको छ । कार्यक्रममा जिल्लाका संचारमाध्यमले संचार संस्थाको दिगोपन, समाचार लेखनमा पाकोपन, व्यवसायीक पत्रकारीता जस्ता विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै सुनवल नगरप्रमुख अर्यालले सामाजिक रुपान्तरणमा आमसंचार माध्यमकोे महत्वपुर्ण भुमिका हुने भएकाले स्थानीय सरकार संचारसंस्थासँग सहकार्य गरेर नै अघिबढेको बताउनु भयो । सो क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले व्यवसायीक पत्रकारीता गर्ने हो भने समाचार लेखन शैलिमा व्यापक सुधार गर्न आग्रह गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा रेडियो संञ्चालक समिति सदस्य एवं कार्यक्रम संयोजक रामजि ज्ञवाली, प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले आमसंचार माध्यममा देखिएका समस्या र चुनौतीहरु समाधान गरेर विश्वसनिय पत्रकारीताको जग बसाल्नुपर्नेमा जोड दिएको रेडियो परासीका स्टेशन म्यानेजर विकास अधिकारीले बताउनु भयो ।
सो अन्तरक्रिया कार्यक्रममा विभिन्न १० बुँदे निष्कर्ष निकालिएको छ । छलफलले जिल्लाका सवै मिडियाहरुले समाचार लेखन र प्रसारणलाई परिस्कृत गर्नु पर्ने, पत्रकारको क्षमता विकासका लागि मिडियाले पहिलो प्राथमिकता दिनु पर्ने, स्थानीय सरकारबाट जिल्ला भित्रका मिडियालाई प्राथमिकता दिनुपर्ने, प्रेस काउन्सीलमा गरिने नविकरण जिल्ला भित्रै गर्ने व्यवस्था मिलाउनु पर्ने, जिल्लाका पालिकाहरुले समानुपातिक विज्ञापन वितरण गर्नु पर्ने माग गरिएको छ । यस्तै जिल्लामा भएका मिडिया बीचका एकता र अनुभव आदान प्रदानलाई निरन्तरता दिने, मिडियाले विज्ञापन नीति, प्रसारण नीति र सम्पादकीय नीति वनाएर काम गर्नु पर्ने, पत्रिकाको वर्गिकरण भए जस्तै अन्य संचार माध्यमको पनि वर्गिकरण गर्नु पर्ने, जिल्लाका ठूला उद्योगले स्थानीय मिडियालाई प्रवन्धनमा जोड दिनु पर्ने लगाएतका निष्कर्ष निकालिएको रेडियाेका प्रवन्ध निर्देशक गौतमले नेपाली चेलीलाई जानकारी दिनु भयो ।
यसैबीच वार्षिकोत्सवको अवसरमा बुधवार छैठाै दिन परासीमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक एवम् रेडियाे परासीका उपाध्यक्ष राजकुमार रेश्मीले बताउनु भयो ।