सामुदायिक रेडियो परासीको बार्षिकोत्सवको अवसरमा आज आइतबार नवलपरासी जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा जिल्लाका २९ वटा विद्यालयका प्रतियोगीहरुको सहभागीता रहेको थियो ।
सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता र लुम्बिनी प्रदेश सभाका सभासद बैजनाथ कलवारको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा सभासद कलवारले सामुदायिक रेडियो परासीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजमा प्रसंसनीय काम गरेको बताउनुभयो । रेडियोले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई जस्ता विविध क्षेत्रमा निरन्तर जागरण र समाजको रुपान्तरणमा काम गरेको चर्चा गर्नुभयो ।
सो अवसरमा कार्यक्रमका निर्णायक डा. घनश्याम न्यौपाने, कार्यक्रमका संयोजक चन्द्रमणी चौधरी, सहसचिव तोरेन्द्र जि.सी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा २९ जना विद्यार्थीहरुले “समाज रुपान्तरणमा आमसंचार माध्यमको प्रभाव” विषयमा गहकीला बिचार प्रस्तुत गरेका थिए । सामुदायिक रेडियो परासीले आफ्नो १६ औ बार्षिकोत्सव कार्यक्रमको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज आइतबार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको नतिजा भने कार्तिक २३ गते सार्वजनिक गरिने भएको छ ।
रेडियो परासीका अध्यक्ष आचार्यका अनुसार प्रतियोगिताको ६० अंक विषयबस्तुको प्रस्तुतिकरण र ४० अंक सामाजिक संजालमा लाइक र भ्यूका आधारमा तय हुनेछ । सो प्रतियोगिताको निर्णायक क्रमशः नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा र सचिव राजकुमार रेश्मीले गर्नु भएको प्रवन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।
यसैबीच सोमबार सामुदायिक रेडियो परासीले रामग्राम नगरपालिका भित्र १ लाख ५० हजार बराबरका २२ बटा सिमेन्टका आकर्षक कुर्सि राख्ने बताएको छ । नगरको सौन्दर्यकरणमा गतबर्षदेखि नै बजार क्षेत्रमा सिमेन्टका कुर्सी राख्ने कामको थालनी गरिएको संस्थाका कोषाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनु भयो ।