पश्चिम नवलपरासीमा राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन हुने भएको छ । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३२४ प्रतिनिधि सहभागि हुनेछन् । मंगलबार आज परासीमा पत्रकार सम्मेलन गरि आगामी कात्तिक १८ र १९ गते सुनवलमा प्रथम प्रदेश अधिवेशन गर्न लागिएको युवा संघले जानकारी दिएको हो ।
नवलपरासीको सुनवल नगरपालिका–२ बत्रौलीस्थित रि–वर्न होटलमा आयोजना भएको अधिवेशनको लागि पूर्व तयारी तीव्र रुपमा भईरहेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटीका संयोजक पृत्तम पौडेलले जानकारी दिनुभयो । प्रतिनिधि छनौट लागि भोली सम्म प्रदेशको सबै जिल्लामा टुगोंलाग्ने संयोजक पौडेलले बताउनुभयो ।
अधिवेशनले ६ जना पदाधिकारीसहित ८७ सदस्यीय प्रदेश कमिटी चयन गर्ने युवा संघले जनाएको छ । प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रभावशाली युवा नेता महेश बस्नेत, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे, महासचिव सुमन पुरी लगायतका पदाधिकारी आउने तय भएको छ भने प्रमुख अतिथि केही दिनमै टुंगो लाग्ने युवा संघले जनाएको छ ।
अधिवेशनलाई मध्यनजर गर्दै आजै परासीमा सचिवालय स्थापना गरिएको छ । मनमोहन स्मृत्ति भवनमा स्थापना गरिएको प्रदेश अधिवेशन सचिवालयको राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरीले उद्घाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै संघका महासचिव पुरीले युवा संघको लुम्बिनी प्रदेश अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न हुने र नयाँ सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
मुलुकको समृद्धि नै अबको मूख्य लक्ष्य भएको बताउँदै महासचिव पुरीले राष्ट्रिय युवा संघ अब समृद्धिको अभियान लिएर नवयुवाको बीचमा जाने उल्लेख गर्नुभयो । मुलुकलाई समृद्ध बनाउने सक्ने एकमात्र पार्टी एमाले रहेको बताउँदै महासचिव पुरीले युवा संघको अधिवेशन पश्चात एमालेलाई पहिलो पार्टी बनाउने अभियान अगाडि बढाउने बताउनुभयो । उहाँले जनसरोकारका विषयलाई युवा संघले बुलन्द रुपमा उठाउँदै आएको दाबी गर्नुभयो ।
अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सहसंयोजक सुरज खरेलले बताउनुभयो। उहाँका अनुसार ११३ सदस्यीय आयोजक कमिटीका स्वतः प्रतिनिधि हुनेछन् भने १०९ पालिका र जिल्ला कमिटीबाट २११ गरि ३२४ प्रतिनिधिसहित पर्यवेक्षक तथा अतिथि गरि साढे तीन सय बढीले अधिवेशनमा सहभागिता जनाउनेछन् ।
।