नेपालका सञ्चार माध्यमहरु दिन प्रतिदिन धरासायी बन्दै गएका छन् । अधिकांश दैनिक पत्रिकाका सञ्चालकहरुले आर्थिक मन्दीको कारण देखाएर पत्रकार तथा कर्मचारी निस्काशन गर्ने र कटौती गर्ने काम गरिहेका छन् । निजी रुपमा सञ्चालित सबैभन्दा ठूलो सञ्चारमाध्यमको अवस्था पनि अरु भन्दा फरक देखिँदैन ।
सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर पब्लिकेशन प्रा.लि.ले टेलिभिजन, कान्तिपुर दैनिक, सर्वोत्तम नारी, साप्ताहिक, काठमाडौं पोष्ट, नेपाल जस्ता प्रकाशनहरु गर्दै आएकोमा कोरोनाकालपछि विस्तारै साप्ताहिक पत्रिका, नेपाल र सर्वोत्तम नारी बन्द नै गर्यो । बाँकी रहेको टेलिभिजन, कान्तिपुर दैनिक, काठमाडौं पोष्ट र अनलाइन सञ्चालनमा रहेका छन् । तर, अधिकांश पत्रकार र कर्मचारीहरुले समयमा तलब नपाएको गुनासो आउनुका साथै पत्रकार र कर्मचारी निकाल्ने काम पनि पटक पटक हुँदै आएको छ । यस्तो अवस्था कान्तिपुरमा मात्र नभई अन्य सञ्चारमाध्यममा पनि देखिन्छ । नयाँ पत्रिका दैनिक, अन्नपूर्ण दैनिक, नागरिक दैनिक, राजधानी दैनिक जस्ता स्थापित पब्लिकेशनहरु समेत धरमर्राइरहेका छन् । जस्को परिणाम स्वरुप सम्पादक फेर्ने काम पनि पछिल्लो समय व्यापक रुपमा हुँदै आएको छ ।
यस्तै अवस्था रहिरहे राज्यको चौथो अंग धरासायी बनिरहँदा भविष्यमा सर्वसाधारण जनताहरु सुचनाबाटै बञ्चित हुने अवस्था सिर्जना नहोला भन्न सकिँदैन । यता सञ्चार क्षेत्रमा नयाँ लगानीकर्ता पनि त्यत्तिकै बढेका छन् । तर, नेपालको पत्रकारितामा विश्वासनीयता गुमाउँदै जाने र अर्कोतिर राजनीतिक दलहरुले हेर्ने दृष्टिकोण फरक रहेका कारण अधिकांश सञ्चारमाध्यम धरासायी बन्दै गएका छन् ।
पत्रपत्रिका लोपोन्मुख अवस्थामा पुगेको, राज्य तहबाट समानुपातिक विज्ञापनको न्यायोचित व्यवस्था हुन नसकेको, विज्ञापनको नियमित स्रोत शून्य स्थितिमा रहेको, स्वरोजगार मूलक अखबारका प्रकाशकले जायजेथा बेचेर पत्रकार कर्मचारी पाल्नुपर्ने अवस्था रहँदा दिन प्रतिदिन अवस्था नाजुक बन्दै गइरहेको छ ।
लोककल्याणकारी विज्ञापनको रकम समयानुकूल नभएको, साना लगानीका स्थानीय स्वरोजगार मूलक पत्रिकालाई ऋण सहज नभएको, राज्यबाट पाउनुपर्ने उद्योग अन्तर्गतको सुविधा, विद्युत्, कर लगायतका सुविधा पाउन नसकेकाले समस्याहरु बढीरहेका छन् ।
यस्तै सरकारले सञ्चारकर्मीलाई झण्डै बीस हजार मासिक तलब दिनुपर्ने नीति लिएपनि राजधानीका प्रकाशन वा प्रसारण हुने विभिन्न सञ्चार माध्यम र स्थानीय सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीले भने आफ्नो पेसाबाट जीवन गुजारामा समस्या भएपछि पेसा परिवर्तन गरिरहेका छन् । मुलुकमा प्रजातन्त्र बहालीपछि राम्रो विकास भएको सञ्चार उद्यम विस्तारै श्रम शोषण गर्ने गृहमा परिणत हुँदै गएपछि सञ्चारकर्मीहरु पलायन हुने अवस्थामा पुगेका हुन् ।
दिनरात, चर्को घाम र पानीको समेत परवाह नगरी काममा घोटिँदा पनि सञ्चारकर्मीले आफू र परिवार पाल्न सक्ने तलब नपाएकै कारणले धमाधम ती सञ्चारगृह छाडेर बैकल्पिक पेसामा लाग्न बाध्य भइरहेका छन् । नीजि सञ्चार माध्यमदेखि सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले खटाई अनुसारको पारिश्रमिक नपाउने र भनेको समयमा वा आपत पर्दा पैसा नै नपाइने भएपछि सञ्चारकर्मीहरुले अपनाएको पेसा परिवर्तन गर्न थालेका हुन् ।
धमाधम पेसा छोडेर विकल्प खोज्ने क्रममा अझै पनि धेरै पत्रकारहरु रहेका छन् । नेपालीहरुको महान चाड दशैं, तिहार हामी सामू आई पुग्दा समेत सञ्चार माध्यममा कार्यरत धेरै पत्रकारहरुले ६ महिना भन्दा लामो समयदेखिको तलब पाउन सकेका छैनन् । टाठाबाठा र धुत्र्याँई गर्न नसक्ने धेरै पत्रकारहरुले सञ्चार क्षेत्रमा टिक्न नसक्ने परिस्थिति बनेपछि धमाधम पेसा परिवर्तनको बाटो अङ्गाल्न थालेको छन् । यस विषयमा नेपाल पत्रकार महासंघका साथै सम्बन्धित निकायले ध्यान दिएर उचित कदम चाल्नु आवश्यक छ ।
#nepal.com