निर्वाचनको पछिल्लो तथ्यांङ्क अनुसार प्रतिनिधिसभामा १२ दलले प्रतिनिधित्व गर्ने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै संसद्मा प्रतिनिधित्व गर्ने दलको टुंगो लागेको हो ।
जसअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो दल बनेका छन् । कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ । त्यस्तै एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट जितेको छ । तेस्रो स्थानको माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट पाएको छ ।
नयाँ दलको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित चौथो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट ल्याएको छ । प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं दल बन्न सफल भएको छ ।
प्रत्यक्षतर्फ ७ सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकतर्फ भने ५ सिट जितेको छ त्यस्तै प्रत्यक्षमा १ सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ ५ सिट पाएको छ ।
नेकपा एकीकृत समावादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ । उसले थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फ सिट पाएन ।
लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १ र ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।