खुलेकी चन्द्रिकातुल्य उज्यालो मन भैदियोस्
बहेझैँ जलमा मैलो सङ्कष्ट दूर गैदिओस्
चुलियोस् ह्युँचुलीतुल्य ऐश्वर्य जिन्दगीभरि
वर्षा वैभवको होओस् बर्सियोस् सुखको झरी ।।१।।
ढलेझैँ रूख आँधीले सारा वैरीहरू ढलून्
बढ्दछ जसरी दुबो शुभेच्छुकहरू बढून्
रोगले पाइला टेक्नै नपाओस् गाथ स्वस्थ होस्
सङ्कष्ट नपरोस् कैल्यै सदा आनन्द वर्षियोस् ।।२।।
बलिवामनझैँ बन्न नपरोस् कहिल्यै पनि
कृष्णअर्जुनझैँ बन्न पाइयोस् जहिल्यै पनि
नबनोस् कहिल्यै द्वन्द्व रामरावणको सरि
मौलाओस् वसुधाभित्र प्रेमसद्भाववल्लरी ।।३।।
काम, क्रोध, अहङ्कार, मात्सर्य, मद बन्द होस्
लोभ र मोह, विद्वेष, ईर्ष्या, घृणा हुँदै नहोस्
समीर फैलिएजस्तै फैलियोस् शुभ भावना
हरेक जनमा जागोस् सुविचार, सुकामना ।।४।।
कसैले नपरोस् रुन अन्याय, भोक, रोगले
नरोऊन् वृद्ध बाआमा सन्ततिकै वियोगले
आदर्शमय संसार मर्यादित बेहोर होस्
आआफ्नो कुलसंस्कृति मानेर दुनियाँ चलोस् ।।५।।
हाँसेर फुर्किँदै श्रद्धा आइरहून् सधैँ सधैँ
शान्ति, सद्भावको गङ्गा बगिरहून् सधैँ सधैँ
दया होस् दीनको निम्ति गङ्गाझैँ भाव निर्मला
लीला प्रकृतिका होऊन् जिन्दगी जिउने कला ।।६।।
चलून् उद्योग, कार्खाना रोजगार प्रशस्त होस्
फस्टाओस् बन्दव्यापार बेरोजगार क्वै नहोस्
अन्नऐश्वर्य भित्र्याई गाउँका कुटियाभरि
हओस् ऐश्वर्यको राज हर्षको बर्सियोस् झरी ।।७।।
अनेक जातजातिमा सहिष्णु भावना होओस्
एकको दुःख देखेर अर्काको मर्म छोइओस्
वसुधाभरिका मान्छे मेरा हुन् बन्धुबान्धव
भन्ने विचारका साथ बढून् मान्छे सगौरव ।।८।।
कर्णझैँ बनियोस् दाता रन्तिझैँ जनसेवक
बगाई पसिनाधारा धरा सिर्जौँ चकाचक
वसुधाभरि फैलाऊँ आदर्शमय भावना
बगाऊँ प्रेमको गङ्गा दशैँको शुभकामना ।।९।।
लेखक: डा. श्यामप्रसाद न्यौपाने, सुनवल १२ भुमही, नवलपरासी ।