आज बडादशैं, नवरात्रको मुख्य दिन । नवदुर्गाको प्रसादको रुपमा मान्यजनको हातबाट टिका अनि जमरा लगाइन्छ । शुभ साइतको प्रतीकको रुपमा रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर बडादशैं मनाउने प्रचलन रहिआएको छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज मंगलबार बिहान ११ बजेर २ मिनेट उत्तम रहेको जनाएको छ । बडादशैं आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नु पर्ने बताउनु भयो । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ । तर टाढा जानुपर्ने बाध्याता भएकाहरुले भने आफ्नो अवस्थाहेरी देवी दुर्गाको विसर्जन गरेर टीका लगाउन पनि सकिने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य भट्टराईले जानकारी दिनु भयो ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी बडादशैंको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने बडादशैं पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापेर मनाइँदैछ ।
आज आफ्ना हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य श्रीवृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने प्रचलन रहिआएको छ ।