२ बर्षमा २ लाखलाई रोजगार दिने आकर्षक नारा दिएको लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाबाट सम्भाव्यता अध्ययन थालेको छ । मुख्य मन्त्री आर्थिक विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले उत्पादन, बजारीकरण र स्वरोजगारको लक्ष्यका साथ सम्भाव्यता अध्ययन थालेको हो । विभिन्न ७ वटा समूह बनाएर मुख्यमन्त्री कार्यालयले १२ वटै जिल्लाको उत्पादन र रोजगारको सम्भाव्यता अध्ययन गर्न लागेको हो । बिहिवार पश्चिम नवलपरासीको रामग्राममा जिल्ला स्तरीय अन्तक्रिया कार्यक्रम गरी पश्चिम नवलपरासीमा उत्पादन, वजारीकरण र स्वरोजगारको सम्भाव्यता अध्ययन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रदेश कानून सचिव राजेन्द्र थापाको अध्यक्षता र लुम्बिनीप्रदेश सभाका साँसद बैजनाथ कलवारको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो कार्यक्रममा साँसद कलवारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमले पश्चिम नवलपरासीमा नयाँ प्रविधि, सीप र उत्पादनलाई प्राथमिकता दिनु पर्ने वताउनु भयो । उहाँले कृषी पकेट क्षेत्रमा आधुनिक र प्रविधियुक्त कृषी पेशामा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी जिल्लाका दर्जनवढी उद्यमी, व्यवसायीहरुले जिल्लामा कृषिको प्रचुर संभावना भएपनि खुल्ला सिमानाका कारण स्वदेशी उत्पादन मारमा पर्दै गएको बताएका छन् । उनीहरुले खुलानाकाबाट हुने चोरी निकारीलाई रोक्ने हो भने स्वदेशी उत्पादनले सजिलै बजार पाउन सक्ने बताएका हुन् । पशु तथा कृषिमा आधारित उद्यमीहरुले सरकारले उत्पादन लागत घटाउन र उत्पादन बढाउन उच्चकोटीको प्रविधि भित्राउन सुझाव दिएका छन् ।
सुनवल नगरपालिका वडा नं. ४ का पशुपालक कृषकले अन्न उत्पादन गर्ने किसानलाई राज्यको पहिलो नागरिक बनाउनु पर्नेमा जोडदिनु भयो । उहाँले मान्छेलाई उपचारकालागि मात्र एम्बुलेन्स हैन पशुपंन्छी विरामी हुँदा पनि उपचारकालागि पशुपन्छी एम्बुलेन्स संचालन गर्न सरकारसँग माग गर्नु भयो । सहभागी उद्यमीहरुले प्रदेश तथा स्थानीय सरकारलाई उत्पादनमूखी अनुदानका कार्यक्रम लागू गर्न माग गरेका छन् ।
कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल, प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी, वर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रसाद उपाध्याय लगायतले पालिकाको उद्योग र स्वरोजगारको सम्भावनाको बारेमा प्रकाश पार्नु भएको थियो । यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम पौडेल, डिभिजन वन कार्यालयका वन अधिकृत महेन्द्र वाग्ले, भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र, परासीका प्रमुख लगायतले जिल्लामा कार्यालयले आ.ब.२०८०।०८१ मा सम्पन्न गर्ने कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।