वि.स.२००५ सालमा रामग्राम नगरपालिका वडा नं. ३ (साविक आदर्श गाउँ पञ्चायत नवलपरासी) मा जन्मिनु भएका समाजसेवी प्रकाशचन्द्र श्रेष्ठको लेखनि जुर्मुराएको छ । श्रेष्ठले घर परिवार, समाज अनि परिवेश र आफ्नो जीवनको यात्रालाई स्मरण गर्दै विभिन्न काल खण्डमा भोगेका अनुभवलाई साहित्यमा ढाल्नेकाम गर्नु भएको छ । “सफर यो जिन्दगीको” कवितासङ्ग्रह प्रकाशन गरेर कवि श्रेष्ठले आफूलाई साहित्य क्षेत्रमा पनि प्रवेश गराउन सफल हुनु भएको छ ।
त्रिवेणी साहित्य प्रतिष्ठान, गैंडाकोटले प्रकाशन गरेको, प्रा.डा नारायणप्रसाद खनाल लगायत थुप्रै साहित्यकारहरुले हौसला प्रदान गरी प्रकाशन भएको श्रेष्ठको कवितासंङ्ग्रह वि.सं. २०८० आषाढमा प्रकाशित भएको हो । कवि श्रेष्ठले यसअघि सुन्तलीटार (कथासङ्ग्रह), शान्ति नामक उपन्यास प्रकाशित गरिसक्नु भएको छ ।
आफ्नै बोली भेषभूषा
पहिरन आफ्नै देशको
जति गरुन माया अरुले
नाता आफ्नै प्रेमको ।
आफ्नो देश र मातृभूमिको माया कति हुन्छ भन्ने श्रेष्ठको यी कविताका पङ्तीले झल्काएको छ । जीवनको यात्रामा स्वदेश अनि विदेश बस्दा प्राप्त अनुभव र भोगाईलाई कवि श्रेष्ठले कविताको माध्यमबाट चित्रण गर्नु भएको छ ।
हेरौ बलेको त्यो सानो दियो
बलेर पनि प्रकाश गरी जान्छ
काठको सुकेको मूढो हेर
जलेर पनि न्यानो दिइ जान्छ ।
नेपाली र हिन्दी भाषामा लेखिएका ९३ वटा कविताको एक अंश हो यो । एउटा दियो र सुकेको मूढोले त केही दिएर जान्छ भने हामी मान्छे भएकोले यो धरतीमा केही दिएर जानु पर्छ भन्ने भाव यी कविताका हरफले भनेका छन् ।
जीवनको लामो समय परासीमा व्यतित गर्नु भएका श्रेष्ठले परासीमा रहँदा शिक्षा, स्वास्थ्य र समाज सेवामा ठूलो योगदान पनि गर्नु भयो । परासीमा रहँदा “प्रकाश काका”का नामले परिचित सवैका प्रीय श्रेष्ठ हाल अमेरीकामा बस्दै आउनु भएको छ । अमेरीकामै वसेपनि जन्मभूमीको मायाले उहाँलाई कहिले छोडेन र कवि श्रेष्ठले कविताको माध्यमबाट यस्तो भन्नु भएको छ...
गाउँ आफ्नै देश आफ्नै
राम्रो आफ्नो समाज नै
छैनन कोही देश राम्रा
मातृभूमि हाम्रो नेपाल झै ।
विश्वको जुन कुनै कुनामा भएपनि आखिर “यो मन त नेपाली नै हो” भने झै श्रेष्ठले हेल्पीङ्ग हेण्ड नामक संस्थाबाट बेला बखत समाजसेवा गर्दै आउनु भएको छ । पाल्ही वहुमुखी क्याम्पसमा ४ लाखको अक्षयकोष स्थापना गरी प्रत्यक बर्ष जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आउनु भएको छ ।