पश्चिम नवलपरासीमा सवै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको संख्या ९ हजार १ सय ३८ रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जसमा सवैभन्दा वढी सुनवल नगरपालिकामा २ हजार ७ जना र सवैभन्दा कम सरावल गाउँपालिकामा ७ सय ६५ जना अपाङ्गता भएका व्यक्तिहरु छन् ।
यस्तै वर्दघाट नगरपालिकामा १ हजार ९ सय ९२ जना, रामग्राम नगरपालिकामा १ हजार २ सय आठ जना, प्रतापुर गाउँपालिकामा १ हजार २ सय १२ जना, सुस्ता गाउँपालिकामा १ हजार १ सय ३७ जना र पाल्हीनन्दनमा ८ सय १७ जना सवै प्रकारका अपाङ्गता भएका मानिस रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।
राष्ट्रिय जनगणनाको तथ्याङ्गमा भएको अपाङ्गताको विवरण अनुसार जिल्लाका कुनै पनि पालिकाको आन्तरिक अभिलेखमा मेल खाएको छैन । पालिकाहरुले अपाङ्गताको वर्गिकरण गरी ४ प्रकारका कार्ड वितरण गर्ने गरेको छन् । जसमा रातो, निलो, पहेलो र सेतो रङ्गका कार्ड पालिकाबाटै वितरण हुने गरेका छन् । सोको आधारमा पालिकाहरुले अभिलेख राख्ने गरेको पाइएको छ ।
जिल्लाका सवै पालिकाहरुमा ४ वटै रङ्गका कार्ड वितरण भएका छन । सुनवल नगरपालिकामा अपाङ्गता कार्डको आधारमा राखिएको अभिलेख अनुसार ८ सय ५९ जना रहेको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले जानकारी दिनु भयो । यस्तै बर्दघाट नगरपालिकामा ४ सय ८८ अपाङ्गताको संख्या रहेको महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार वितरण भएको कार्डको आधारमा अपाङ्गताको अभिलेख राखिने गरिएको छ । यस्तै रामग्राम नगरपालिकामा ६ सय ८७ जना, पाल्हीनन्दनमा ३ सय २१ जना, सरावलमा ३ सय २३ जना, सुस्तामा ३ सय ५१ जना र प्रतापपुरमा ४ सय ६८ अपाङ्गताको संख्या रहेको महिला तथा बालबालिका शाखा प्रमुखहरुको भनाइ छ ।
अपाङ्गता समावेशीकरण र अधिकारको पैरवी गर्ने संस्था राष्ट्रिय अपाङ्ग महासंघ र सुनवल सामुदायिक विकास केन्दले पनि जनगणना गर्दाको तथ्याङ्क र पालिकाहरुमा रहेको अभिलेख मेल नखाने बताएका छन् ।