नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला महिला उद्यमी समिति नवलपरासीले शुक्रवार आफ्नो मौलिक कला र संस्कृतिको प्रदर्शन गर्दै हरितालिका तिज मनाएका छन् । सुनवलमा महिला उद्यमी समितिले जिल्लाका सातै पालिकाबाट भेला भएका महिला उद्यमीहरुका बीच तीज पर्व मनाएका हुन् । महिला उद्यमी समितिले जिल्ला भित्रका महिलाहरुद्वारा उत्पादित सामाग्रीहरुको प्रदर्शन गर्दै आफ्नो कला र संस्कृतिको जगेर्ना गरेका छन् ।
कार्यक्रममा नवलपरासीका विभिन्न पालिकाबाट १२ जना उद्यमी महिलाहरुले आफ्नो उद्योगको उत्पादन प्रदर्शन गरेका थिए । उनीहरुले वन, कृषि र हस्तकलामा आधारित सामाग्रीहरु प्रर्दशन गरेका हुन् ।
महिला उद्यमी समिति नवलपरासीकी अध्यक्ष निशा पराजुलीको अध्यक्षता र सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा तिज मिलन तथा महिला उद्यमीहरुद्धारा उत्पादिन घरेलु सामग्रीहरुको प्रदर्शन गरिएको हो । सो अवसरमा नगरप्रमुख अर्यालले महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप, प्रविधि र बजारको सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष तारा आचार्य, लुम्बिनी प्रदेश महिला उद्यमी समितिकी अध्यक्ष शान्ता तिमिल्सीना, घरेलु महासंघ नवलपरासीका अध्यक्ष मेघराज गौतम, पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, महिला उद्यमी समितिकी वरिष्ठ उपाध्यक्ष सीता तिमिल्सीना, उद्योग वाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेल लगायतले तीजको शुभकामना व्यक्त गर्नु भएको महिला उद्यमी एवं कार्यक्रम संचालक शान्ति सिस मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित महिला उद्यमीहरुले विभिन्न समूहमा बसेर पुराना सुख अनि दुःख मिश्रित मौलिक भाव झल्किने तिज गित प्रस्तुत गरेको महिला उद्यमी समितिकी अध्यक्ष पराजुलिले जानकारी दिनुभयो ।