जनताका प्रतिनिधिहरुले पारित गरेको पहिलो र नेपालको सातौं संविधानको रुपमा २०७२ सालमा संविधान बनेको हो । संविधान सभाको दोश्रो निर्वाचनबाट संविधान सभाले २०७२ साल भदौ ३० गते दुईतिहाई भन्दा वढी मतका साथ संविधान पारित भएको हो ।
संविधान नेपालको इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको पहिलो र संसार भरकै सबैभन्दा पछिल्लो लिखित संविधान हो । जुन जारी भएको ८ बर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गरी जारी गर्नु भएको थियाे ।
यसै सन्दर्भमा संविधान जारी भएको ८ बर्षको अवसरमा नवलपरासीमा तीन दिनसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाइने भएको छ । गत भदौ २७ गते नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले यहि असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।
तीन दिनसम्म मनाईने दिवसीय कार्यक्रममा प्रभातफेरी, संविधानको महत्व विषयक वहस, सरसफाई र सौन्दर्यकरण र घरघरमा दिपावली जस्ता कार्यक्रम गरी मनाउने निर्णय भएको छ । यस्तै राष्ट्रसेवक कर्मचारीसँग जनप्रतिनिधी र पत्रकारको टोली बीच मैत्रिपूर्ण फूटवल प्रतियोगिता गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनु भयो ।
बैठकमा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम, सुनवल र वर्दघाट नगरपालिकाका प्रमुखहरु क्रमशः धनपत यादव, विमला अर्याल र शम्भुलाल श्रेष्ठ, जिल्ला स्थित राजनीतिक दल, पत्रकार, नागरिक समाज, कार्यालय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।