नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार राती १ बजे निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा लैजाँदै गर्दा मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।
नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । नेम्वाङको निधनको खबर सुनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अस्पताल पुग्नु भएको थियो । नेम्वाङ इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनु हुन्थ्यो । उहाँ २००९ फागुन २८ गते इलाममा जन्मिनु भएको हो।
हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार भने बुधवार (भोलि) गरिने भएको छ । उहाँका दुवै छोरा विदेशबाट आएपछि मात्रै अन्तिम संस्कार हुने बताइएको छ ।
दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने बताइएको छ ।
त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको एमालेले जनाएको छ ।
नेम्वाङको निधन प्रति उच्च पदस्थ व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपती रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरे लगायतले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गर्नु भएको छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले पनि दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गर्नु भएको छ ।